माता र मातातीर्थ औंसी

Published Fri, Aug 9, 2024

आमाको महत्व परम वैदिक सनातन धर्ममा ठूलो रहेको छ। शास्त्रहरुले “मातृदेवो भव” आमालाई भगवान मान भनेर आमा सबैभन्दा श्रेष्ठ रहेको कुरा प्रमाणित गरेका छन् । आमालाई साक्षात देवीको स्वरुप मानिएको छ । जसले नौ महिना सम्म गर्भमा राखेर जन्मदिई त्यसपछि लालन पालन पोषण गर्नुहुन्छ। आमामा रहेको वात्सल्य गुण ( बच्चालाई गरिने माया) कसैमा पनि हुँदैन । अतः माताको तुलना कसैसँग पनि हुन सक्दैन । त्यहि भएर भगवान रामले पनि लंका विजय पछि भन्नुहुन्छ “ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात्  जन्मदिने माता र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो छ । मातालाई एकदिन मात्र होईन सधै सेवा आदर गर्दा पनि माताको भार तिरेर सकिदैन। सधै औपचारिक रुपमा स्मरण गर्न असंभव भएकाले हिन्दू धर्मावलम्वीले  वैशाख महिनाको कृष्णपक्षको औंसीलाई मातातीर्थ औंसीकारुपमा अथवा मातृसम्मान दिवसका रुपमा मनाउने प्रचलन छ। यो दिन विहान उठेर आमाको पूजागरि आमालाई मनपर्ने मिष्ठान्न भोजन अर्पणगरि कपडाहरु समर्पण गर्नु पर्दछ ।  यसो गर्दा माताजीको सेवाको म सधैं आभारी र ऋणी छु भन्ने कुरा अभिभूत गराउदछ। जस्का माताजीहरु जीवित हुनुहुन्न उहाँहरुले विभिन्न तीर्थस्थलमा गएर माताको मोक्षको कामना गर्दै श्राध्द तर्पण दानआदि गर्दछन् । काठमाडौंमा हुनेहरु मातातीर्थमा गई स्नानगरि तर्पण दान गर्दछन् । यसो गर्नाले मातृ ऋणबाट मुक्त भईन्छ भन्ने विश्वास छ। मातुलेश्वर महादेवको कृपा र आमाको आशिर्वाद सधै रहने विश्वास गरिन्छ।

मातातीर्थ कुण्ड मर्यादा पुरुषोत्तम भगवान श्रीराम वनवास जाँदा घुम्दै यसक्षेत्रमा आई त्यहाँका स्थानीय व्यक्तिहरुसँग लडाई गरी प्यास लागेर पानी नपाउँदा “ माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः “ भन्दै वाण प्रहारबाट गंगाजी उत्पत्ति भई पानीको कुण्ड वनेको र सीताजीको मूर्ति सम्म कुदिएको भन्ने प्रचलन छ। यही कुण्डलाई मातातीर्थ कुण्ड भनिएको उल्लेख छ। अतः यस्तो पवित्र स्थानमा आमाको स्मरणमा श्राध्द तर्पण गर्नाले पितृहरुको कल्याण हुन्छ भन्ने विश्वासका साथ मेला पनि लाग्ने गरेको छ।

माताको सेवा स्मरण एकदिन होईन जन्मौंजन्म गर्दा पनि मातृऋणबाट उन्मुक्त हन गार्हो भएकाले सधै माताको निष्काम भावले सेवा गर्न सके र उहाँका उपदेश जीवनमा उतार्न सके मात्र सच्चा मातृभक्त र मातातीर्थ औंसीको स्मरण हुनेछ। अहिले कोभिडको महामारी भएकाले सुरक्षित रहि घरमा माताजीलाई नमन पूजा गर्दै स्मरण गरौं अवश्यनै मातातीर्थ औंशीको फल पूर्णरुपमा प्राप्त गर्नेछौं । जय जननी, जय मातृ दिवस ।

Share this article